काठमाण्डौ । वैशाख मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ । जसमा आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड र वाह्य ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । जुन नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२.९४ प्रतिशत हाराहारी हो ।
आन्तरिक ऋणः १२ खर्ब ६६ अर्ब ७० करोड, वाह्य ऋण १३ खर्ब ५५ अर्ब ६९ करोडको आधारमा हेर्दा कुल सार्वजनिक ऋणमा वाह्य र आन्तरिक ऋण हिस्सा भने क्रमशः ५१.६९ प्रतिशत र ४८.२१ प्रतिशत छ ।
वैशाखमा सरकारले लिएको ऋणको तुलनामा साँवा भुक्तानी बढी हुन गएकोले केसार्वजनिक ऋण भने घट्न पुगेको देखिन्छ ।
कार्यालयका अनुसार वैशाख २०८१ मा मात्र सरकारले ५२ अर्ब ७३ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्च गरेको छ । यसका लागि २ अर्ब ९२ करोड खर्च गरेको छ ।
यस महिना ऋणप्राप्ति भने २४ अर्ब ३५ करोडमात्र भएको छ । जसमा आन्तरिक ऋण १० अर्ब र वाह्य ऋण १४ अर्ब ३५ करोड छ । चैत २०८१ मा समेत सरकारले ४१ अर्ब ४८ करोड भुक्तानी गरेको थियो । फागुनमा भने १० अर्ब ७५ करोड भुक्तानी गर्दा सरकारले ४७ अर्ब १५ करोड ऋण लिएको थियो ।
सरकारले चालु आव २०८१/८२ मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन लक्ष्य राखेको छ । जसमध्ये आन्तरिक ऋण ३ खर्ब ३० अर्ब र वाह्य ऋण २ खर्ब १७ अर्ब परिचालन लक्ष्य छ ।
वैशाखसम्म आन्तरिक र वाह्य ऋण परिचालन ३ खर्ब ९० अर्ब पुगेको छ । जुन वार्षिक लक्ष्यको ७१.४५ प्रतिशत हो । आन्तरिक ऋण लक्ष्यको ९१.२५ प्रतिशत र वाह्य ऋण ४१.३३ प्रतिशत उठाइएको छ ।











Discussion about this post