काठमाण्डौ । विश्व बैंकले आर्थिक वर्ष २०२४÷२५ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०२३÷२४ को ३.९ प्रतिशतको तुलनामा बढी हो । सन् २०२४ को अन्त्यतिर ठूला प्राकृतिक विपत्तिहरू घटे पनि नेपालको आर्थिक वृद्धिदर बढने अनुमान गरिएको बैंकले जनाएको छ ।
विश्व बैंकद्वारा बिहीबार सार्वजनिक (नेपाल विकास प्रतिवेदन आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन) अनुसार अहिलेको यो वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनमा आएको सुधारका कारण संभव भएको हो । यो वर्ष मात्र होइन, विश्व बैंकको प्रतिवेदनले सन् २०२५÷२६ र २०२६÷२७ मा पनि नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ ।
यो वृद्धि हासिल हुन सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहने अनुमान बैंकले गरेको छ । नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक छ । यसलाई हासिल गर्नका लागि नेपालले आफ्नै उत्थानशीलता वृद्धिको प्रभावशाली इतिहासको जगमा प्रमुख संरचनागत सुधारहरू कार्यान्वयन गर्न आवश्यक छ । विश्व बैंकका माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भने ।
प्रतिवेदनले नेपालको आर्थिक परिदृश्यमा रहेका सम्भावित जोखिम (अपेक्षित प्रतिफल कम भएर लगानी ह्रास)हरूलाई पनि औंल्याएको छ । जोखिमहरुमा भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितता समावेश छन् । यसले नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावनाका साथै सरकारले बारम्बार कर्मचारीहरूको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पूँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइका सम्बन्धमा पनि उल्लेख गरेको छ ।
नेपाल डेभलपमेन्ट अपडेटले पछिल्ला आर्थिक विकासबारे महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्नुका साथै नेपालको उत्थानशील आर्थिक वृद्धिलाई प्रकाश पार्छ । नेपालको १६ औं योजनाका लक्ष्य हासिल गर्न आर्थिक वृद्धिलाई थप मजबुत बनाउनुपर्ने भएकाले प्रभावकारी पूँजीगत बजेट कार्यान्वयन एवं चालु परियोजना समयमै सम्पन्न गर्न आवश्यक छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने ।
नेपाल डेभलपमेन्ट अपडेट वर्षमा दुईपटक प्रकाशित हुने प्रतिवेदन हो, जसले अघिल्लो वर्षका प्रमुख आर्थिक घटनाक्रमहरूलाई दीर्घकालीन विश्वव्यापी सन्दर्भमा राखेर विस्तृत विश्लेषण प्रदान गर्छ । (रासस)











Discussion about this post